
काठमाडौं । प्रदेश र संघीय चुनावलाई लक्षित गर्दै असार १ गतेबाट निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन गर्ने आयोगले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
१८ वर्ष उमेर पुगेका (माघ २५ गतेदेखि जेठ मसान्तको अवधिमा) नागरिकता लिएका र पहिला पनि नागरिकता लिएर मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।
यसैगरी आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्।
बसोबास गरिरहेको स्थानबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था आयोगले गरेको छ। ‘पेसा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाण सहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिनुपर्छ। निवेदकले स्थायी ठेगानाकै मतदातानामावलीमा नाम दर्ता हुन्छ,’ आयोगले जारीको गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

