नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालय स्थापना

-


     मर्दी न्युज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित


पोखरा । आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । सो प्रतियोगिताको लागि आज आइतबार पोखरा रङ्गशालामा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा सचिवालय उद्घाटन गरेका छन् ।

सचिवालयको उद्घाटन गर्दै खेलकुदमन्त्री गहतराजले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहे पनि खेलकूद आयोजना हुने स्थान या प्रदेशको पनि सकारात्मक सन्देश जाने हुँदा सोही अनुसार काम गर्नुपर्ने बताएका छन् । उनले सरकारका तीनै तह मिलेर नवौं राष्ट्रिय खेलकूद भव्यताका साथ सम्पन्न गर्न दृढ व्यवस्थापनका साथ लाग्नुपर्ने बताए ।

खेलकुदमन्त्री गहतराजले यस सचिवालयबाट सम्पूर्ण खेलको गतिविधि, तयारी र व्यवस्थापकीय काम हुने समेत बताए । सचिवालयलाई सोही अनुरुप लाग्न पनि उनले निर्देशन दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताएको छ । उनले भने “विगतका संस्करणको अनुभवलाई समेटेर सामूहिक दायित्वका साथ प्रतियोगिता सफल बनाउनुपर्ने सबैको साझा दायित्व हो । ”

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन महानगर राखेप र प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । प्रमुख आचार्यले गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको बताए । आफू सानो छँदा आयोजना भएको खेलकुद अहिले आफैंले महानगरमा रहेर सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेलहरू छन् । प्रतियोगितामा चार सय सात स्वर्ण पदकका लागि खेलाडबीच प्रतिस्पर्धा हुनेछ । टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा सात सय आठ जनासम्म खेलाडी सहभागी हुनेछ । प्रतियोगितामा कूल सात हजार सात सय ८८ खेलाडीमात्र सहभागी हुने गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिए ।