सुदुर पश्चिमको माघी गाउँमा लाटेकोसेरो तथा हुचिल उत्सव हुने

-


     मनशान्त घिमिरे    
     भाद्र ६ गते २०७९ मा प्रकाशित


फोटोः प्रकृतिका साथीहरु

घोडाघोडी नगरपालिका वडा नं ४ को माघी होमस्टे कैलालीमा आउँदो माघ २० र २१ गते लाटेकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । उत्सव संस्कृति, पर्यावरण, संरक्षण र मनोरञ्जनको महोत्सब हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव-२०७९ का संयोजक डिआर चौधरीले बताए ।

सन् २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालिएको हो । लाटोकोसेरो महोत्सव अमेरिका, इटली, भारत र नेपालमा गरी ४ देशमा मात्र मनाउने गरिन्छ । नेपालमा भने यो उत्सव सन् २०१२ देखि प्रकृतिका साथीहरु संस्थाको पहल तथा संयोजकत्वमा हरेक वर्ष नयाँ स्थानमा मनाउने गरिएको छ ।

हालसम्म यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा आयोजना गरिसकेको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । विश्वब्यापी महामारी कोभिड-१९ का कारण सन् २०२१ र २०२२ मा यो उत्सव हुन सकेको थिएन ।

विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो मध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने पाइन्छन्। नेपाल सरकारको तथ्याङ्क अनुसार ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ भएता पनि विभिन्न संघ संस्थाले पछिल्लो समयमा गरेको अध्ययन-अनुसन्धानहरुमा सवै प्रजातिहरु प्रभावित देखिन्छन् । नेपालवाट लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको आचार्यले बताए ।

अन्नबाली खाएर सखाप पार्ने मुसा लाटोकोसेरोको प्रमुख आहारा हो । ४ वटा संख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले ४ महिनाको अवधिमा ३ हजार मुसा शिकार गर्ने भएकाले यो किसानको साथी भएको आचार्य बताउँछन् ।

उत्सवमा नेपाल भरिका प्रकृति, पर्यावरण, संरक्षण क्षेत्रमा काम गर्ने २५ भन्दा बढी संघ संस्था लगाएत सरोकारवाला निकायहरु, संरक्षणकर्मीहरु र स्थानिय विद्यालय, कलेजका विद्यार्थीहरु को समेत उल्लेख सहभागि हुने गर्दछ ।

यस पटकको यो उत्सव चरा संरक्षण नेटवर्क र प्रकृतिका साथीहरु संस्थाको संयुक्त आयोजनामा मनाउन लागिएको हो । साथै उत्सवमा घोडाघोडी नगरपालिका, डिभिजनल वन कार्यालय पहमानपुर, वसन्त संरक्षित वन परिषद, घोडाघोडी संरक्षण मञ्च, आसपासका सामुदायीक वन उपभोक्ता समितिहरुको समेत सहकार्य रहने संयोजक चौधरीले जानकारी दिएका छन् ।



Tags: , , ,