
गलकोट । निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखर खेती लगाइएको छ । उक्त स्थानमा दुई वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जग्गा चक्लाबन्दी कार्यक्रममार्फत ती खेती लगाइएको थियो ।
यस्तै बानपा १२ स्थित सहेलाको फाँटमा चासो कृषक समूहको झण्डै दुई सय रोपनी जग्गामा कागतीका बिरुवा हुर्कँदै छन् । सोही समूहलाई समेत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चक्लाबन्दी कार्यक्रममा समावेश गरिएको थियो ।
बाँझो जग्गालाई एउटै ‘प्लट’ बनाउने, जग्गाको खण्डीकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रुपमा लिने गरिन्छ । बाँझो जग्गामा एकीकृत खेती गर्नका लागि गलकोट नगरपालिकाको एक सहकारीले निलुवा लेकमा जग्गा चक्लाबन्दी गरेर खेती थालेको छ । जिल्लामा बिस्तारै जग्गा चक्लाबन्दी गरेर व्यावसायिक खेती प्रणालीमा लैजान थालिएको छ ।
बसाइँसराइले क्रमशः गाउँका जग्गाहरु बाँझो पल्टिने, जग्गाको खण्डीकरणका कारण यन्त्रीकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना आएको हो ।
नगदेबालीको उत्पादन बढाउने, यन्त्रीकरणको माध्यमबाट उत्पादन लागत घटाउने र खेर गएको जग्गालाई सदुपयोग गर्नका लागि जग्गा चक्लाबन्दीको योजना अघि सारेको सो परियोजनाले जनाएको छ ।
परियोजनाका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा पाँच स्थानमा करिब ५०० रोपनीभन्दा बढी जग्गा चक्लाबन्दी गरेकोमा चालु आर्थिक वर्षमा चक्लाबन्दी योजनाका लागि पुनः पाँच योजनाका लागि ५० लाख बजेट बिनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले बताए । पौडेलका अनुसार चक्लाबन्दी कार्यक्रममा समावेश हुँनका लागि फर्मको ६० रोपनी र समूहको १०० रोपनी जग्गाभन्दा माथी हुँन आवश्यक छ ।
“पछिल्लो सयम कृषिमा यन्त्रीकरण भइरहेको छ, पहाडमा साना–साना खण्डकीरणका जग्गाहरु छन् भने केहीले जग्गालाई बाँझो बनाएर छोडेका छन्,” उनले भने “दुई वर्ष पहिला परियोजनाले पाँच वटा चक्लाबन्दीको योजना सफल भएको छ । यो वर्ष पुनः पाँच स्थानको जग्गा चक्लाबन्दी गर्ने गरी योजना माग गरेका छौँ, चक्लबन्दीले नगदे बाली बढाएको छ भने सम्भावित बाँझो जग्गालाई घटाएको छ । बाँझो जग्गा भाडामा लिएर समेत जग्गा चक्लाबन्दी गर्न सकिने भएकाले जग्गाको उपयोगिता चक्लाबन्दीसँगै दोब्बरले बढेर जान्छ ।”
परियोजनाका अनुसार दुदीलाभाटी, ढोरपाटनमा समेत चक्लाबन्दी गरेको जग्गामा नगदे तरकारी तथा फलफूल बाली लगाइएको छ । चक्लाबन्दी जग्गामा अन्नबालीबाहेक जुनसुकै खेती गर्न सकिन्छ ।
चक्लाबन्दी जग्गामा सजिलै यन्त्र उपकरण लैजान सकिने, पानीको निकास हुने, पहिरो नजाने तथा उत्पादनमा समेत वृद्धि हुने र उत्पादन लागत घट्ने भएकाले जग्गा चक्लाबन्दीमा किसानहरुको आर्कषण बढेको छ ।
चक्लाबन्दी भन्दैमा डोजर लगाएर जग्गा सम्माउने मात्रै नभएर जग्गाको खण्डीकरण मिलाउने र अन्न बाहेकको एकल बाली लगाउनेलाई समेत चक्लाबन्दीका रुपमा लिँदै आएको वरिष्ठ कृषि अधिकृत पौडेलको भनाइ छ । पौडेलका अनुसार चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ४० विभिन्न कृषि योजनामा पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
५६ जनाको बाँझो जग्गा भाडामा लिएर गलकोटको सयपत्री बहुउदेश्यीय सहकारीले १२४ रोपनी जग्गा चक्लाबन्दी गरेर परीक्षण खेती थालेको छ ।
प्रतिरोपनी वार्षिक दुई हजार भाडा तिर्नेगरी जग्गा चक्लाबन्दी गरेर खेती गर्न थालिएको सहकारीका अध्यक्ष चिन्तामणी शर्माले जानकारी दिए । शर्माका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको २६ लाख र सहकारीको चार लाख लागतमा १२४ रोपनी जग्गा चक्लाबन्दी गरिएको हो ।
“किसान घटाउने उत्पादन बढाउने हाम्रो योजना हो । परीक्षणका लागि केही खेती गरेका छौँ, गत वर्ष चक्लाबन्दी गरेको जग्गामा यो वर्ष जमिन दबेर खाल्टाखुल्टी परेको छ, पुनः जग्गा व्यवस्थित गरेर नगदेबाली लगाउनेछौँ,” उनले भने, “अहिले लसुन तथा सिमी लगाइएको उक्त स्थानलाई यस वर्ष पुनः व्यवस्थित गरेपछि खेती थालिनेछ ।” रासस

