नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिस शीर्षस्थानमा

-


     मर्दी न्युज    
     असाेज २६ गते २०७९ मा प्रकाशित


पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन् । जितसंगै पुलिस क्लव समूहको शीर्षस्थानमा पुगेको छ ।

समूहमा सम्पन्न दुई खेलमध्ये पुलिसले दुवैमा जित हासिल गर्दै ४ अंक जोडेको छ । बुधबारको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको फराकिलो जित निकाल्यो । जितको लागि १ सय ५९ रनको विशाल विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले पुरै २० ओभर खेल्दा ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो ।

बुधबारको खेलमा बझाङकी सम्झना खड्काले उत्कृष्ट प्रदर्शनमात्रै गरिनन्, पहिलो अर्धशतकसमेत प्रहार गरेकी छन् । दुवै खेलमा उनी ‘प्लेयर अफ द म्याच’समेत भइन् ।

सम्झनाले ४३ बल खेल्दै १० चौका मद्दतमा ६० रन बनाउँदा पुलिसले प्रदेश १ लाई १५९ रनको लक्ष्य दिएको थियो । कर्णालीविरुद्धको पहिलो खेलमा पनि उनले २१ बलमा २ चौकासहित २५ रन बनाएकी थिइन् । पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षेत्रीले १६ रन बनाए ।

प्रदेश १ को बलिङमा निशा शाहले १ विकेट लिइन भने पुलिसका दुई खेलाडी रनआउट भएका थिए । जितका लागि १ सय ५९ रन पछ्याउने क्रममा पुरै २० ओभर खेलेको प्रदेश १ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो । जसमा क्याप्टेन सनु राजबंशिले ११ रनको पारी खेलिन् । पुलिसको बलिङतर्फ हिरनामयी रायले ३, सबनम राई, कविता कुँवर र कविता जोशिले समान एक एक विकेट लिए ।

बुधबारको अर्को खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिला व्याटिङ गरेको लुम्बिनीले पुरा २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २७ रन बनायो । लुम्बिनीको व्याटिङमा लक्ष्मी चौधरीले ३ चौकाको मद्धतमा ३१, सरस्वती घर्ती मगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डिसीले १२ रन जोडिन् । कर्णालीको बलिङमा अन्जु गुरुङले २ र अन्जिला क्षेत्रीले १ विकेट लिइन् ।

जितका लागि १ सय २८ रन पछ्याएको कर्णाली मात्रै २३ रनमा समेटियो । कर्णालीले ८.३ ओभरमै सबै विकेट गुमाउँदा किरण कुँवरले १२ बलमा सर्वाधिक पाँच रन बनाइन् । लुम्बिनीको बलिङमा ‘प्लेयर अफ द म्याच’ बनेकी मधु डिसीले आफ्नों स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, कृतिका मरासिनीले २ र सुस्मिता भुषालले १ विकेट लिइन् । जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लव र गण्डकी प्रदेशबीच पहिलो तथा मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशबीच दोश्रो खेल हुनेछ ।