अमृतले स्क्वासमा जिते लगातार तेस्रो पटक स्वर्ण

-


     मर्दी न्युज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित


पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासको पुरुष व्यक्तिगत स्पर्धामा गण्डकीका अमृत थापामगरले स्वर्ण पदक जितेका छन् ।

सोमबार पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा सम्पन्न फाइनलमा अमृतले वाग्मतीका अह्रान्त सिन्हालाई ३-२ को सेटमा जित निकाल्दै राष्ट्रिय खेलकुदमा लगातार तीन संस्करणमा स्वर्ण जित्न सफल भएका हुन् ।

यसअघि अमृतले सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए । स्वर्ण जितेपछि अमृतले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्न पाउँदा खुशी लागेको बताए ।

पहिलो सेटमा १२–१० को प्रतिस्पर्धात्मक जित निकालेको अमृतले दोस्रो सेट ८–११ ले गुमाउन पुगेको थियो । तेस्रो सेटमा १२-१० स्कोरमा जितेका अमृत चौथो सेटमा ९-११ ले पराजित भए । निर्णायक सेटमा अमृतले ११-८ ले लिँदै स्वर्ण पदक जितका हुन् ।