पुस २९ गते हार्मोनीमा गुञ्जिंदै दीपा नारायण झा

-


     मर्दी न्युज    
     पुस २४ गते २०७९ मा प्रकाशित


पोखरा । नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारायण झालाई पुस २९ गते पोखरेलीले सुन्न पाउने भएका छन् । पोखरा क्षेत्रमा महिला संगीतकर्मीको संगठन हार्मोनी पोखराको आयोजनामा पोखरा सभागृहमा सदावहार गायिका दीपा झालाई सुन्न पाउने भएको हो । टेस्ट अफ हार्मोनीको चौथो संस्करणमा संस्थाले दीपानारायण झालाई उभ्याउन लागेको हो ।

भारतको पश्चिम बंगालमा जन्मिएकी दीपा गहतराज पछि गायक उदितनारायण झासँग वैवाहिक जीवनमा बाँधिएपछि दीपा नारायण झा बनिन् । उनले सुरुवाती समयमा गाएको चलचित्र ‘कुसुमे रुमाल’को शीर्ष गीत आज पनि नेपालीको जनजिब्रोमा उत्तिकै झुण्डिएको छ ।

दीपा झाले नेपाली सुगम संगीतसहित सम्झना, कुसुमे रुमाल, मसाल, लाहुरे, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौंला, कर्जा, पछ्यौरी, देउकी, ट्रक ड्राइभर, कसमलगायत थुप्रै नेपाली फिल्म गीतमा आवाज भरेकी छन् ।

‘उक्त कार्यक्रममा दीपा झालाई विशेष सम्मान गर्ने कार्यक्रम रहेको छ,’ हार्मोनी पोखराका अध्यक्ष इतु जोजिजुले भनिन्, ‘कार्यक्रमले दीपानारायणका विगत अनुभवलाई हामीले नजिकबाट सुन्ने मौका पाउनेछौं, केही गीतहरुको प्रस्तुति पनि दिनुहुनेछ ।’

टेस्ट अफ हार्मोनीको चौथो संस्करणमा दीपासहित इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले प्रस्तुति दिनेछन् । त्यस्तै, पुरुषबाट गायनमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुले पनि साथ दिने अध्यक्ष जोजिजुले जानकारी दिइन् ।

टेस्ट अफ हार्मोनीको पहिलो संस्करणमा वरिष्ठ गायिकाहरु मीरा राणा, बाबा राणा, ज्ञानु राणा र रचनाकार वसन्ती लालचनलाई सम्मान गरिएको थियो । दोस्रो संस्करणमा वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी कोइराला, उषा शेरचनलाई हार्मोनी सम्मान दिइएको थियो भने नेपालकै पहिलो पाश्र्व संगीतकार शान्ति ठटाललाई हार्मोनी अभिनन्दन गरिएको थियो ।

तेस्रो संस्करणमा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’ नाम दिइएको थियो भने उक्त संस्करणमा दार्जिलिङकी गायिका दावा ग्याल्मो, वरिष्ठ नृत्यांगना रत्न दासलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा उदयीमान गायिका जोनिशा पौडेललाई प्रोत्साहन सम्मान दिइएको थियो ।

चौथो संस्करणको कार्यक्रममा अर्थात पुस २९ गते क्यान्सर पीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानोवादक उपासना पाख्रिनलाई पनि प्रोत्साहन सम्मान गरिनेछ कार्यक्रम रहेको आयोजकले जनाएको छ ।