
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् ।
मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको हो । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ ।
प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने भएको हो । २७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।