
पोखरा । जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइरहेका अभियन्त पूर्णकुमार (पिके) शेर्पा पोखरा आई काठमाठौं फर्किएका छन् । ‘जहाँ हिउँ त्यहाँ पानी, जहाँ पानी त्यहाँ जीवन’ भन्ने मूल नाराका साथ आरोहीसमेत रहेका पिके शेर्पाले सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उद्देश्यले पोखरा आएका हुन् ।
‘अबको एक हप्तापछि पोखरामा गरिने कार्यक्रमको मिति तय हुन्छ’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका शेर्पाले भने । साथै प्रदेशमा अभियानलाई सशक्त ढंगले अगाडि बढाउन सातै प्रदेशमा कार्यक्रमको आयोजिना गरिने र केही हप्ताभित्रै गण्डकी प्रदेशको पोखरामा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
बाबुको अभियानमा साथ दिएका उनका छोरा सोनाम शेर्पा किशोर उमेरमै आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर स्थानमा पुग्ने कान्छो आरोही पनि हुन्। सन् २०२१ मा १७ वर्षको उमेरमा सोनम शेर्पाले सगरमाथको सफल आरोहरण गरेका थिए ।
सन् २०१०, २०११ र २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका आरोही पिके शेर्पा विगत दुई दशकदेखि आरोहणका साथ हिमाल सरसफाइमा पनि संलग्न छन् । पहिलो पटक हिमाल सफाइ अभियान चलाउने उनी एक्लो अभियान्ता पनि हुन् । उनले २०१० मा हिमाल सफा गर्न एक्लै आँट कसेका थिए । व्यक्तिगत तथा संस्थागत पहलमा थुप्रै पटक हिमाल सफा गरिसकेका छन्, उनले। सगरमाथा क्षेत्रबाट मात्रै उनले १८ टन भन्दा बढी फोहोर संकलन गरिसकेका छन् भने कञ्चनजङ्गा क्षेत्रमा २५ टनभन्दा बढी फोहोर व्यवस्थापन गरिसकेका छन् ।
पिके जलवायु परिवर्तनविरुद्ध सन्देश लिएर छोरासहित सातै महादेशको हिमाल आरोहण गर्दै छन्। जलवायु परिवर्तनको असरबाट हिमाल बचाऊँ भन्ने सन्देश विश्वभर फैलाउन आउँदो फेब्रुअरीमा अफ्रिकाको माउण्ट किलिमञ्जरो आरोहणमा जान लागेको आजको भेटमा उनले बताए । शेर्पा बाबुछोराले अभियानअन्तर्गत अष्ट्रेलियाको माउन्ट कोस्सिउस्ज्क, रसियाको माउन्ट इलब्रस, दक्षिण अमेरिकाको माउन्ट एकन्कागुआ, उत्तर अमेरिकाको डेनली आरोहण गर्नेछन् । अभियानको अन्तिममा दक्षिण एशियामा नेपालको सगरमाथा आरोहण गर्ने जनाएको छ ।
अभियानकर्मी शेर्पाले जलवायु परिवर्तनको जोखिम विश्वभर बढेको र यसले हिमाललाई धेरै असर पुग्ने भएकाले विश्व समुदायमा प्रत्यक्षरूपमा पुग्न नसके पनि चुचुरोबाट सन्देश फैलाउने उद्देश्यले बाबुछोरा अभियानमा लागेको बताए ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा बाल्यकाल विताएका पिके तीन दशक लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध छन्। कामकै सिलसिलामा उनले सगरमाथासँगै अन्य हिमालहरु पनि आरोहण गरेका छन्।
यो अभियान सकिने कुनै निश्चित समय छैन्, उनीहरुको। वर्षैं पनि लाग्ने सक्ने पिके बताउँछन्। अहिले अभियानको लागि विभिन्न संघसंस्थाले साथ दिइरहेका छन्। एकल प्रयासले भने आरोहण सम्भव नहुने उनको अनुभव छ। यसका लागि सबै सहयोग आवश्यक पर्ने पिके बताउँछन्। राज्यबाट भने सहयोग नपाएको उनको गुनासो छ । रोयल्टी समेत आफैं तिर्नु परेको तीतो अनुभव उनीसँग छ ।
पिके–बाबु छोराको हिमालप्रतिको श्रद्धा र आरोहणप्रति आत्मविश्वास हेर्दा लाग्छ, सफल आरोहरण गर्दै जलवायु परिवर्तनविरुद्धको सन्देश विश्वमाझ पुर्याउन सफल हुनेछन् । पिके बाबु–छोरालाई शुभकामना ।
