
पोखरा । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको शव सनाखत भएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले साँझ छ बजे सनाखत भएको जानकारी दिइन् । पौडेल काठमाडौँबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । प्रेस सेन्टरको पदाधिकारी बैठकका लागि उनी काठमाडौं पुगेका थिए । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ ।