
पोखरा । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई–फाई नेपालको सेवा अब पोखरमा पनि विस्तार भएको छ । मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी कम्पनिले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट गरी दुई प्रकारका प्याकेज सञ्चालनमा ल्याएको जानकारी दिए ।
मासिक ३३३ रुपैयाँमा ५० एमबीपीस र मासिक ५०० रुपैयाँमा ८० एमबीपीएस इन्टरनेट प्याकेज खरिद गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रितेशराज सिंह श्रेष्ठले जानकारी दिए । उक्त मूल्यमा भ्याट भने जोडिएको छैन ।
‘हामीले छ महिना अघि काठमाडौं उपत्यकाका तीन जिल्लामा सेवा विस्तार गरेसँगै अब पोखर, लेखनाथ र दमौलीमा पनि वाई–फाई नेपाल विस्तार गर्न लागेका छौ,’ सीईओ श्रेष्ठले भने ।
५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्नका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । तीन महिनाका लागि कुल तीन हजार १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । जसमा तीन महिनाको शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ । छ महिना र एक वर्षका लागि जडान गर्दा तारको शुल्क लाग्नेछैन ।
अर्कोतर्फ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ लाग्छ, जसमा एक हजार ६०० रुपैयाँ तीन महिनाको इन्टरनेट शुल्क, ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश हुन्छ । सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्दैन ।
कम्पनीका कार्यकारी अधिकृत शत्रुधन पञ्जियारका अनुसार वाई–फाई नेपालको सेवा उच्च गुणस्तरको रहेको बताए । अहिलेको विश्वपरिवेशमा छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता धेरै भएको बताए । कम्पनी एकवर्ष भित्रै देशका प्रमुख शहरहरुमा सेवा पु¥याउने लक्ष्य राखिएको उनले बताए ।

