गिद्धको अन्तीम बिदाईमा भावशून्य हुँदा

-


     कृष्णप्रसाद भुसाल     
     फागुन २८ गते २०७९ मा प्रकाशित


२०७९ फागुन २७ गते शनिबार, चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको ‘गिद्ध संरक्षण तथा प्रजन्न केन्द्र’मा कोरलीएका र त्यहा हुर्काइएका दुर्लभ डंगर गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुर्नस्थापना गराउने (भल्चर रिलीज) कार्यको अन्तीम पटकको ऐतिहासीक दिन थियो । ‘एशियाली गिद्ध लोपहुनबाट बचाँउ–सेभ’ को १२ औ बैठकबाट सहभागी हामी अंकित बिलास जोशी, देउ बहादुर राना र डि.बि. चौधरी शुक्रबार साझ नै नवलपरासी जिल्लाको कावाशोती, पिठौलीमा रहेको जटायु रेष्टुरेन्ट क्षेत्रमा फर्किएका थियौ ।

कार्यक्रमको पुर्वतयारी गरी सुत्दा रातको ११ बजेको थियो तर म बिहान ३ बजेर २१ मिनेट मै ब्युझीए । करीब १५ वर्षको गिद्धको अध्ययन, अनुसन्धान र संरक्षणयात्राको एक बिशेष दिन थियो मेरा लागि उक्त शनिबार । ब्युझिए पछी बिगतका अनेकौ स्मरणहरु मनमा खेलीरहे, जसले बेला बेला चैन, बैचैन बनाई राखे । छ बजे ईश्वरी चौधरी, अंकित बिलास जोशी, देउ बहादुर राना, यम नेपाली, केवल चौधरी र म ‘भल्चर रिलीज’ गर्ने स्थानमा गयौ । ‘रिलीज एभिएरी’मा गत कार्तिक १७ गते कसराको प्रजन्न केन्द्रबाट ल्याइएका १० वटा डंगर गिद्ध थिए । रिलीजको आवस्यक तयारी ग¥यौ ।

रिलिज कार्यक्रम

नौ बजेर २७ मिनेटमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्य, लामीचौैर मध्यवर्ती वनका अध्यक्ष बाशुदेव पौडेल, नेपाल पन्छी संरक्षण संघका अध्यक्ष करन बहादुर शाह, एशियाली गिद्ध लोपहुनबाट बचाँउ–सेभका ब्यवस्थापक क्रिस बाउडेन, बर्डलाईफ इन्टरनेशनल, एशीयाका प्रमुख विनायगन धर्मराज र जटायु रेष्टुरेन्ट ब्यवस्थापन समितीका संयोजक डि.बी. चौधरीले टाढैबाट रसी तानेर रिलीज एभिएरीको ढोका खोल्नुभयो । उक्त कार्यक्रममा भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, कम्बोडिया, सिंगापुर, बेलायत, अमेरीका र क्यानडाबाट पनि गिद्ध बिज्ञ तथा संरक्षणकर्मिको उपस्थीती थियो ।

नौ बजेर ३३ मिनेटमा चारवोटा गिद्ध रिलीज एभिएरीबाट बाहिर निस्कीए । लुकेर अवलोकन गरीरहेका उपस्थीत अतिथी तथा सहकर्मिहरुमा उत्साह प्रवाह भयो । तर किन किन मेरो मनमा एउटा ग्रहौ भाव आयो । सबैले हामीलाई बधाई भनिरहेका थिए म बनावटी मुस्कानमा प्रतिक्रया बिहीन जस्तो भए । सायद, छोरी अन्माउदा आमाबुवामा देखीने भावसंवेगात्मक अवस्थाको जस्तो भावशून्य भए म । करीव १३ वर्ष अघी गिद्धको गुँडबाट बचेरा झिकी गिद्ध संरक्षण तथा प्रजन्न केन्द्रमा ल्याउदा देखी अन्तीम बिदाईको दिन सम्मको सामिप्यताले भावनात्मक बनायो । गिद्धका बचेरा संकलन ताकाका हामी रिर्चड कथबर्ट, हुम गुरुङ, ईशाना थापा, ईश्वरी चौधरी र म त्यही थियौ । इश्वरी जी सँग अंकमाल गरी बधाई साटौ जस्तो लागेको थियो खोई किन सकिएन । हामीसबैलाई बधाई छ म्याडम भन्छु भनि इशाना थापा म्याडम बस्नुभएको स्थान सम्म पुगे तर के भयो वाक्य नै निस्कीएन, म्याडमको मुखमा हेरे र अन्यत्रै मोडीए । बैनीहरु अन्माउदाको जस्तो खुशी र पिडाको विष्मयमा रुमलिए जस्तो भए म ।

गिद्ध सुरक्षित आहारकेन्द्रमा सिनो खाँदै गिद्धका वथान

२०६७ फागुन २२ र २३ मा अर्घाखाँची जिल्लाको अर्घामा अवस्थीत गोटेकादीप सल्लेरी, गर्ताखहरेखोला र गर्लामका वनबाट छ वोटा डंगर गिद्धका गुडँबाट बचेरा प्रजन्न केन्द्रमा ल्याईएको थियो । संकलन गर्न दुई दिन लागेकोले अघिल्लो दिन गुँडबाट निकालिएका तिन बचेरा मेरो घरमा राखेका थियौ । गिद्धलाई छोए वा घर नाघे पनि स्वस्तीशान्ती गर्नुपर्छ भन्ने खालको मान्यता बलियो भएको अवस्थामा मेरो बुवा आमाले गिद्धलाई घर भित्रै राख्न अनुमती दिनुभयो । ईश्वरी चौधरी र मैले मासु टुक्रा पारेर बचेरालाई खुवाउथ्यौ । मेरो मनमा गिद्ध प्रतिको गहिरो माँया सायद ति दिनबाट पलायो । त्यस यताका दिनमा ति गिद्धलाई हुर्काउन सयौ जनाको हात रह्यो ।

गिद्ध संरक्षण तथा प्रजन्न केन्द्रमा कार्यरत नवरत्न प्रधान, बिकल्प कार्कि लगायतका भेटेरीनरी डाक्टरहरु रञ्जन चौधरी, कल्पना थापा, हरी बोटे लगायतका ब्यवस्थापनका मित्रहरुको अथक प्रयासले मात्र प्रजन्न केन्द्रमा गिद्ध हुर्कन र बच्चा कोरल्न सफल भए । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ तथा सहयोगी अन्तराष्ट्रिय दातृ संस्थाको बलियो सम्बन्ध र सहकार्यले गिद्ध संरक्षण तथा प्रजन्नका साथै प्रकृतिमा पुस्थापनामा संसारमै सफल र अनुकरणीय नमुना बन्न पुग्यो । सन् २०१७ देखी सन् २०२३ सम्म प्रजन्न केन्द्रबाट ६९ गिद्ध ढाडमा स्याटेलाईट ट्याग लगाई प्रकृतिमा छाडिएको छ । जसको विचरण, प्रजन्न, आहार र मृत्यको कारण पनि अध्यन गरीदै छ ।

यो माँया भन्ने चिज विचीत्रको हुने रहिछ । स्नातकोत्तर शोध अध्ययनको समय २०६५ बाट औपचारीक रुपमा बसेको गिद्धसँगको माँया झन झन बढदै गयो । मायाले एकोहोरमात्र बनायो । स्नाकोत्तर अध्ययन पछी सबै जना साथिहरु जागिरमा लागे म भने गिद्धका गुँड र सिनो खाने ठाउहरु पछाउदै हिडन थाले । करीव दुई वर्ष त्यसरी नै गिद्ध र तिनका गुडँ खोज्दै बित्यो । त्यसपछीको एक दशक जागिरेको भुमिकामा नेपाल पन्छी संरक्षण संघमा गिद्ध सँगको झन सामिप्यतामा नै बित्यो । जागिर छोडेको पनि दुई वर्ष बित्यो । यसबिच फरक प्रकृति र भुमिका भएका अत्यन्तै राम्रा जागिरका अवसरहरु पनि आए तर गिद्ध सँगको साईनो र सामिप्यतामा कमी होलाकि भनेर ति अवसर रोज्न सकिएन । बैदेशीक बसाईले पनि दुरी झन बढ्ने पिरलोले त्यता पनि लागिएन । बरु देशमै गिद्ध संरक्षणको क्षेत्रमा स्वतन्त्र र स्वयमसेवी भुमिका झन बढाउन तिर लागियो । स्वगिर्य आनन्द यसैमा छ त म किन अन्यत्र भौतारीरहु । कम्तीमा महिनाको एक पटक गिद्ध देख्न पाईएन भने ‘के लत बस्यो मलाई‘‘‘‘‘यो दिल बिमार हुन्छ’ भन्ने गितले भने जस्तो हुन्छ ।

तत्कालिन अवस्थामा गिद्धका गुँडवाट वच्चाहरु संकलन गरिदैं

११ बजेर ३२ मिनेट सम्ममा सबै १० गिद्ध रिलीज एभियरी बाट बाहिर निस्कीए । काठमाडौं र्पmर्कनेबेला सहकर्मी अंकित बिलाश जोशी, देउ बहादुर राना, इश्वरी चौधरी, दिलीप चन्द ठकुरी र हिरुलाल डंगौरा सँग बिदा हुदै गर्दा मैले साझ घाम अस्ताएपछी फोन गर्छु भने । गुडनै आटेको गाडीमा हासोको गुञ्जयमानले रमाईलो भयो । घाम अस्ताउँदा आज छाडिएका गिद्ध कता कता कस्तो अवस्थामा बाहिर बास बसे, सुरक्षित छन कि नाई भन्ने चासो थियो । गाडी त चल्यो तर मेरो मन मष्तिस्क त्यही अडिएछ क्यार, ड्राईभरले गाडी रोकेर कावासोती निस्कने बाटो सोध्दा पनि मैले मेसै पाईन त्यसपछी बल्ल म बोले मलाई बाटो थाहा छ । आडैमा नेपाल पन्छी संरक्षण संघका कोषाध्यक्ष राजकुमार राई र कम्बोडिएन साथी हुनुहुन्थ्यो । म त्यती धेरै बोलीन बरु कालो चस्मा लगाएर निदाए जस्तो गरे जसले मलाई फ्लासब्याकमा दोडिरहन सजिलो गरायो । काठमाडौं पुगेर साथीहरुलाई ७ बजेर १९ मिनेटमा म्यासेज गरे, सबै गिद्ध ठिक छन । १० बजेर १९ मिनेटमा अंकित जीले म्यासेज गर्नुभयो सबै गिद्ध सुरक्षीत स्थानमा त्यही आसपासमै बास बसेका छन । त्यो सुनेर मनै खुशी भयो, बडो गजबले निद्रा पर्यो ।

भुषाल आइयुसियन गिद्ध विज्ञ समुहका सदस्य हुन् ।