
जापान, वैशाख १९ (मे २) । नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको सहकार्यमा सञ्चालन गरिएको घुम्ती सेवामार्फत् कन्सुलर कार्य सहज बन्दै गएको छ । घुम्ती सेवामा राहदानी नवीकरण, जापानमा जन्मेका बच्चाको पहिलोपटक राहदानी बनाउने, अधिकृत वारेशनामा,राष्ट्रियता, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, जन्मदर्ता, अविवाहित, नाता प्रमाणीकरण यात्रा अनुमतिपत्र लगायतका कन्सुलर कार्यको सेवा प्रदान गरिएको छ ।
यसैबिच कान्साई क्षेत्रका लागि अप्रील २९,३०, मे १ र २ तारिखमा ओसाकामा सञ्चालन गरिएको घुम्ती सेवामा करीव ६ सय जना सेवाग्राही प्रत्यक्ष लाभान्वित् भएको एनआरएनए कान्साई संयोजक दिलिप शर्माले जानकारी दिए । सबैभन्दा बढी राहदानी सम्बन्धी सेवाबाट पहिलोदिन १ सय २८, दोस्रोदिन १ सय ४०, तेस्रोदिन १ सय ५० र चौथोदिन १ सय २६ जनाले सेवा प्राप्त गरे शर्माले भने, राहदानी बाहेक अधिकृत वारेशनामा,राष्ट्रियता, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, जन्मदर्ता, अविवाहित, नाता प्रमाणीकरण, यात्रा अनुमतिपत्र लगायत परामर्श सेवा प्रदान गर्यौ, कान्साई क्षेत्रमा पहिलो पटक सञ्चालन गरिएको घुम्ती सेवा व्यवस्थापनमा केही कमीकमजोरी भए होलान् त्यसप्रति क्षमाप्रार्थी छु । सफल पारिदिनु भएकोमा नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापान केन्द्रीय समिति, कान्साई क्षेत्रीय समिति र सम्पूर्ण सेवाग्राहीप्रति आभार व्यक्त गर्न चाहन्छु ।
अप्रील २९ र ३० दुईदिन सञ्चालन गर्ने भनिए तापनि गुगल फाराममार्फत् सर्वेक्षण गर्दा ३ सय ७५ जनाले फाराम भरेपछि घुम्तीसेवा दुईदिन थपिएको हो,आगामी दिनमा कमीकमजोरीलाई सुधार्दै सबैको सहयोगमा घुम्तीसेवालाई निरन्तरता दिने शर्माले बताए ।
सेवाग्राही खुशी
कन्सुलर सेवाका लागि टोकियो धाउनु पर्ने बाध्यता हटेकोमा खुशी देखिन्थे,रातभरिको बसयात्रापछि एहिमे प्रान्तबाट घुम्ती सेवामा आएका एक सेवाग्राही । घुम्तीसेवाले टोकियो जानेआउने खर्च र समय बचत भएको छ, यसप्रति धन्यवाद दिन चाहन्छु, क्योतोबाट राहदानी नवीकरण गर्न आएका चोक गुरूङले बताए । त्यस्तै क्योतोबाटै राहदानी नवीकरण गर्न आएका मनोज थापा राजदूताबासको सेवा सहज भएकोमा दङग देखिन्थे ।

घुम्ती सेवामा जे देखियो
विशेषगरी राहदानी नवीकरणको लागि बारकोड, क्यूआरकोड सहितको फाराम भरेर ल्याउनु पर्नेमा केहीले सर्वेक्षणका लागि भरिएको गुगल फाराम ल्याएका थिए । अधिकांशको बारकोड, क्यूआरकोड सहितको फाराम भए विवरण त्रुटि भेटिएको घुम्तीसेवामा खटिएका एक कर्मचारीले बताए । कतिपयले राहदानीको फाराम पाँच हजार येनसम्म शुल्क दिएर भरेको पाइयो ।