एमाले गर्‍यो संसद अवरोध, प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग 

-


     मर्दी न्युज    
     जेठ २१ गते २०८० मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री प्रचण्डले बंगलादेशको फूलबारी बन्दरगाहासम्मको रुट उपलब्ध गराएर नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने अभिव्यक्ति दिएको भन्दै यसको जवाफ संसद्‍मा प्रधानमन्त्रीले दिनुपर्ने एमालेले माग गरेको छ।

प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसद पदम गिरीले सो विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे। उनले भने, ‘फूलबारी गन्दरगाहाको रुट प्राप्तका निम्ति नेपालको पश्चिम कालापानी,लिम्पियाधुरा लिपुलेक क्षेत्र पनि हामीले दिन तयार रहेको भन्ने कुराले नेपालको शीर निहुरिएको छ। राष्ट्रियताप्रति एउटा गम्भीर प्रश्न उब्जाउने कुरा भएको छ। यस्ता कुरा प्रधानमन्त्रीबाट आउनु भनेको निकै दुःखद कुरा हो । उहाँले त्रुटि च्याउनुपर्छ। सदनका अगाडि माफी माग्नुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा पत्रकारसँग कुराकानी गर्दै बंगलादेशसँग सीमा पहुँच पुर्‍याउन लागि कालापानीको भू-भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो ।