करिब दुई सातापछि उठ्यो पोखराको फोहोर

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०८० मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाले करिब दुई सातापछि लामेआहालमा रहेको अस्थायी ल्यान्डफिलमै फोहोर विसर्जन गरेको छ । स्थानीयले अवरोध गरेपछि १२ दिनदेखि नउठेको फोहोर मंगलबारदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी महानगरपालिकाले बिहानदेखि फोहोर फाल्न सुरु गरेको हो ।

बिहानैबाट फोहोर लिएर ल्यान्डफिल पुगेका ३० गाडीले लामेआहालमा फोहोर विर्सजन गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएपनि विना अवरोध फोहोर विसर्जन भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले १६ बुँदै सम्झौता पालना नगरेको भन्दै स्थानीयले साउन १० बाट फोहोर फाल्न अवरोध पुर्‍याएका थिए । महानगरपालिकाले फोहोर फाल्नेबित्तिकै माटोले नपुरेको, दूर्गन्ध हटाउने रसायन नछरेको, निर्माण कार्य सम्झौताबमोजिम नगरेको स्थानीयको आरोप छ । महानगरपालिका र स्थानीयबीच पटकपटकको छलफलमा स्थानीयले फोहोर फाल्न नदिने अडान दोहोर्‍याउँदै आएका थिए ।