
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ।
प्रदेशसभाको अध्यक्षता गरेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले उक्त घोषणा गरेका हुन्। मुख्यमन्त्री थापाका पक्षमा ४७ जनाले मत दिए भने विपक्षमा ३० जना सांसदले मत दिएका छन्।
कोशीमा ९३ जना सांसद छन्। तर सोमबारको प्रदेश सभा बैठकमा भने ७७ जना सांसद मात्रै उपस्थित रहेका थिए। नेकपा एमाले र राप्रपाका केही सांसद आजको बैठकमा अनुपस्थित रहेका थिए।
संविधानविपरीत विश्वासको मतका पक्षमा आजको बैठक सञ्चालन गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले आफैंले मतदान गरेका हुन्। आफूले समेत मतदान गरेपछि थापाले ४७ मत पाएको भन्दै विश्वासको मत पाएको भनेर उनले घोषणा गरेका हुन्।
सभाको अध्यक्षता गर्नेले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्थाविपरीत मनसुरीले थापाको पक्षमा मत दिएपछि एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरु विरोध जनाएका छन् । प्रदेशसभाभित्र एमाले र राप्रपाका सांसदहरुले नाराबाजी गरिरहेका छन्।
मत बराबरी नभइकन संविधानको उल्लंघन गर्दै गठबन्धनको निर्णयका आधारमा मन्सुरीले मतदान गरेपछि यो विषय कानुनी हिसाबले विवादित बनेको छ। सभाको अध्यक्षता गर्ने व्यक्तिले पनि मतदान गर्ने निर्णय गठबन्धनले गरेकोको थियो। संविधानविद्हरु यसलाई संविधानको ठाडो उल्लंघन भएको बताएका छन्।