
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप लगाएका छन् ।
एमाले गण्डकी प्रदेशको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको बताएका हुन् ।
उनले भने, ‘काँग्रेस शोषक, कमिसनखोर र भ्रष्टाचारीहरूको पार्टी हो । आज ‘प्रचण्ड’ सरकारमार्फत कमिसनखोर र तस्करहरू समातेको नाउमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे । यो मुलुकको प्रधानमन्त्रीसँग शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरे । हामी सबैलाई थाहा छ । अनुसन्धानको सुइरो एउटा पूर्वप्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चुप लागेर बस्छ । सरकार टिकाउन अपराधी लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ ।’
उनले अहिले सरकारले भ्रष्टाचार विरोधी अभियानको नाममा नौटङ्की गरिरहेको टिप्पणी गरे । उनले माधवको पार्टी धेरैदिन नटिक्ने दाबी गर्दै एमालेमा प्रवेश गर्नसमेत आग्रह गरे ।
उनले ललिता निवास प्रकरणको फाइल फेरि खुल्ने दाबी गरे । उनले भने, ‘लतिला निवास प्रकरणमा छानबिनको ढोका बन्द भएको होइन। यो जनताले फेरि उठाउँछन् । बाबुराम भट्टराई होस् कि माधव नेपाल । जनताको छानबिनको कठघरामा उहाँहरू उभिनै पर्छ ।’
उनले अहिलेको गठबन्धन फुटाएर सरकार परिवर्तन नगरी अहिलेको विकृति अन्त्य नहुने बताए । उपमहासचिव गुरुङले अझै १० वर्ष एमालेमा अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका छन् । केपी ओली बिना राष्ट्रिय स्वाधिनताको यात्रा विथोलिने तथा पार्टीको सफलता ओली मात्र सम्भव भएको उनको भनाइ छ ।