पर्यटनको प्रवर्द्धन गर्न पोखरा महोत्सव

-


     मर्दी न्युज    
     पुस ९ गते २०८० मा प्रकाशित


पोखरा । पोखरा–१० स्थित अमरसिंह चौरमा १२औँ संस्करणको पोखरा महोत्सव आयोजना गरिने भएको छ । स्थानीय युनाइटेड क्लबद्वारा आयोजित उक्त महोत्सव यही पुस २६ गतेदेखि आगमी माघ ८ गतेसम्म महोत्सव हुन लागेको हो । स्थानीय संस्कृति तथा पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले महोत्सवका आयोजना गरिएको जानकारी क्लबद्वारा आइतबा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो छ ।

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ ११ वर्षअघि देखि सञ्चालन गर्दै आइएको उक्त महोत्सवबाट प्राप्त मुनाफाबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन तथा चिडियाखान निर्माणमा सहयोग प्रदान गर्दै आएको जानकारी क्लबका अध्यक्ष राजु श्रेष्ठले दिए ।

महोत्सव अवलोकनका लागि दुई लाखभन्दा बढीको सङ्ख्यामा मानिस आउनुको साथै रु ३४ लाख मुनाफा सङ्कलन हुने अनुमान आयोजक संस्थाले गरेको छ । दुई सय ३० स्टल रहने महोत्सवले पोखराको पर्यटन विकाससँगै आर्थिक चलायमान हुने विश्वास क्लबले लिएको छ ।

महोत्सवमा विभिन्न जातजातिको कला संस्कृतिको प्रदर्शनी, औद्योगिक तथा स्थानीय हस्तकलाका सामग्रीको प्रवर्द्धन तथा बिक्री वितरण सूचना प्रविधिको प्रदर्शनी, पोखरा तथा वरपरका पर्यटकीय क्षेत्रको जानकारी नेपाली संस्कृति झल्कने नृत्य तथा कृषि उत्पादनका बस्तुहरु महोत्सवमा राखिने छ ।

महोत्सवका आकर्षकमा राष्ट्रिय कलाकारद्वारा लोकदोहोरी, हांस्य व्याङ्य बाल उद्यान, झाँक्री प्रर्दशनी, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, नेपाली संस्कृति झल्कने पोशाकसहितको प्रस्तुती रहने जानकारी सो अवसरमा दिइएको छ । युनाइटेड क्लबले महोत्सवबाट प्राप्त मुनाफाले सामाजिक काममा सहयोग गर्दै आएको छ ।