
जापान, २३ पुस । कबड्डी, जारी लगायत ब्लकबस्टर चलचित्र निर्माण कम्पनी बासुरी फिल्मस् र माओत्से फिल्मस्को संयूक्त ब्यानरमा निर्माण भएको चलचित्र दयारानी माघ २६ गतेबाट प्रदर्शन हुने भएको छ । अब्बल अभिनेता, निर्देशक माओत्से गुरूङको लेखन, निर्देशन रहेको यस चलचित्रमा सुप्रसिद्ध अभिनेता दयाहाङ राई र चर्चित अभिनेत्री दीया पुनको प्रमुख भूमिका रहेको छ ।
साथै बिजय बराल, प्रमिसा गुरूङ, पुस्कर गुरूङ, सूर्य सुनुवार, टीकाराम घले, शिर्षा कुँवर, सीतादेवी गुरूङ, कृष्टी गुरूङ, राजेन्द्र थापा, नयन गुरूङ लगायतको अभिनय रहेको छ । दया र दीयाको जोडीले यसअघि अभिनय गरेको वीरबिक्रम र मिस्टर झोले हिट चलचित्र हुन् भने दयारानीबाट ह्याट्रिकको अपेक्षा गरिएको छ ।
अहिले योजनावद्ध ढंगले टिजर, ट्रेलर र गीतमार्फत् चलचित्रको प्रमोशनमा व्यस्त छौ, जनवरी १ मा मनोज थापामगर र सदीक्षा कट्टेलको स्वरमा रहेको चोरी-चोरी बोलको गीत रिलिज गर्यौ, निर्देशक गुरूङले टेलिफोन सम्पर्कमा बताए ।
अब टिजर र ट्रेलर रिलिज गर्नेछौं, माघ १५ पछि अर्को गीत लाईदेउ छपक्कै रिलिज गर्छौ। कलाकारको व्यस्तता र प्रभावकारीतालाई मध्यनजर गरेर देशदौडाह प्रचारको शैली अपनाउदैनौ निर्देशक गुरूङले भने। दयारानी नितान्त पारिवारिक चलचित्र हो, निःसन्तान श्रीमान-श्रीमतीले भोग्नु पर्ने उतारचढाव, महिलामाथि दोषारोपण थुपार्ने पुरूष मानसिकताको तीतो यथार्थलाई उजागर गरेको छ, अधिकांश दृश्य कास्कीको मादी गाउॅंपालिकाको याङ्जाकोटमा र केही भाग पोखरामा छायाङ्कन गरिएको छ। रहनसहन, परिवेश र साँस्कृतिक पर्व गुरुङ समुदायको देखिए तापनि यो आम समाजमा हुने घटना हो निर्देशक गुरूङले बताए।
पुरानो डुङ्गा जस्तो उत्कृष्ट कथा लेखेका निर्देशक गुरूङको डेब्यू निर्देशन भए तापनि यसअघि एक दर्जन बढी गुरूङ भाषाको चलचित्र सफल निर्देशन गरिसकेका छन् ।
मोहन गुरूङ (तिला), न्यू आईटी भेन्चर जापान,किरण गुरूङ, केन्द्र लिम्बु,मेजर खुशीमान गुरूङ, क्याप्टेन सुरेन्द्र गुरूङ र क्याप्टेन सूर्य प्रकाश गुरूङको लगानी रहेको छ । ब्लकबस्टर चलचित्र निर्देशक रामबाबु गुरूङ र अपिल विष्ट कार्यकारी निर्माता रहेको चलचित्रलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् भने प्रोडक्सन म्यानेजर डिबी गुरुङ हुन् । मनिराम पोखरेल कास्टिङ डाईरेक्टर रहेको यस चलचित्रलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र बिदेशमा सेभेनसिज ईन्टरटेनमेन्टले वितरण गर्नेछ । बिभिन्न कारणले पटक-पटक प्रदर्शनको मिति सरेको यो चलचित्र भ्यालेनटाईनडे सप्ताहको अवसरमा प्रदर्शन हुन लागेको हो । चलचित्रमा समावेश चिरिच्याट्टै बोलको गीत दर्शकले रूचाएका छन् भने अव चलचित्र हेर्न आतुर छन् ।


