
पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८० आउँदो माघ ९ देखि २० गतेसम्म हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौँ’ भन्ने उद्घोषका साथ सहारा क्लबले २३ वर्षदेखि पोखरामा आहा रारा गोल्ड कप गर्दै आएको छ ।
प्रतियोगितामा २ विदेशीसहित १२ टिमले सहभागिता जनाउने भएका छन् । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने विदेशी टोलीमा भारतको दिल्ली फुटबल क्लब र भुटानको पारो फुटबल क्लब भएको जनाएको हो । ए डिभिजनका ८ टिम, मोफसल र आयोजकका एक–एकले सहभागिता जनाउने क्लब अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
ए डिभिजनका नेपाल प्रहरी फुटबल क्लब, मनाङ मस्र्याङदी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, जावलाखेल युथ क्लब र थ्री स्टार क्लब सहभागी हुनेछन् । नवलपुरको राईजिङ स्टार फुटबल क्लब र आयोजक सहारा क्लबको पनि सहभागिता रहनेछ ।
विजेताले १२ लाख, उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । उत्कृष्ट ५ विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । म्यान अफ द म्याचलाई ८ हजार र फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको आरा रारा गोल्डकपमा उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्य बहादुर के.सी.को स्मृतिमा प्रायोजन हुने भएको छ भने राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्ने बताइएको छ ।
अघिल्लो संस्करणमा भुटानिज युथ क्लबलाई पराजित गर्दै संकटा क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।

