एपिएफ र हेल्प नेपाललाई टाइगर कप राष्ट्रिय भलिबलको उपाधि

-


     मर्दी न्युज    
     माघ ६ गते २०८० मा प्रकाशित


पोखरा, ६ माघ । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा आयोजना भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को उपाधि चुमेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरि न्यूडायमण्ड क्लब काठमाडौँलाई सोझो सेटमा पराजित गरी साविक विजेतासमेत रहेको एपिएफ च्याम्पियन बनेको हो । यससँगै एपिएफले उपाधिमा ह्याट्रिक गर्न सफल भयो ।

उपाधिसँगै एपिएफले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको न्यूडायमण्ले रु दुई लाख ५५ हजार पाँच सय ५५ मा चित्त बुझायो । एपिएफले पहिलो सेटको खेल २५–२०, दोस्रो सेट २५–१८ र अन्तिम सेट २५–२१ ले डायमण्डलाई हराएको हो ।

विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा एपिएफले दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पिन बनेको थियो । महिलातर्फ प्रतियोगितामा छ टोलीले सहभागिता जनाएका थिए ।

यस्तै पुरुष तर्फको विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबको टिम च्याम्पियन बनेको छ। उसले फाइनलमा गण्डकी प्रदेशलाई ३–१ ले हराएर उपाधि जित्यो। खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–१८ ले जित्दै दवाबमा राखे पनि तेस्रो सेटको खेलमा घरेलु टोली गण्डकीले पुनरागमन गर्दै २६–२४ ले खेल आफ्नो पक्षमा पारेको थियो ।

दर्शकको राम्रो साथ पाएको गण्डकीले आशातित प्रदर्शन भने गर्न सकेन । खेलमा फर्किने सङ्केत देखाए पनि चौथो सेट हेल्प नेपालले २५–१७ ले सहजरूपमा आफ्नो पक्षमा पार्दै घरेलु टोलीलाई निरास बनाउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

च्याम्पियन बनेको हेल्प नेपालले रु पाँच लाख ५५ हजार पाँच सय ५५, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको घरेलु टोली गण्डकीले भने रु दुई लाख ५५ हजार पाँच सय ५५, ट्रफी र मेडल पुरस्कार पायो ।

पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा टिपटप हेल्प नेपालका मजहर अली, सोही टिमका खेलाडी मोहमद काशिफ उत्कृष्ट सेटर हुँदा सोही टिमका दीपक थापा घोषित भए । उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी, उत्कृष्ट ब्लकरमा गण्डकीका रामास्वामी आङ्गामुथु र प्रशिक्षक टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका घोषित भए । उनले जनही रु १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरे ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजना गरिएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा पुरुष तर्फको विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबको टिम ट्रफीसहित । तस्बिर : धनबहादुर गुरुङ/रासस