
पोखरा, ७ माघ । २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा भएको छ । सहारा क्लब पोखराले माघ ९ देखि २० गतेसम्म आयोजना गर्ने २३ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
मोफसलकै चर्चित आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टार क्लबबीच हुने भएको छ । १२ टिमले भाग लिएको प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।
क्लबले सार्वजनिक गरेको टाइसिट अनुसार पहिलो दिन आयोजक सहारा क्लबले थ्रि स्टारको सामना गर्ने भएको हो । दोस्रो दिन माघ १० मा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब तथा माघ ११ मा मछिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १२ मा विभागीय नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् ।
माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै आयोजकले प्रत्येक खेलखेलवापत अतिरिक्त प्रोत्साहन रकम पनि दिँदै आएको छ । जसअनुरुप प्रि–क्वाटर विजेता र पराजित दुवै टिमले समान २० हजार रुपैयाँका दरले पाउनेछन् ।
क्वार्टरफाइनलमा विजेता र पराजित दुवै टिमले समान ३० हजार रुपैयाँ र सेमिफाइनलमा विजेता र पराजित दुवै टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।
प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम सहारा एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ ।