आहा! रारा पोखरा गोल्डकपः थ्री स्टारको विजयी सुरुवात

-


     मर्दी न्युज    
     माघ ८ गते २०८० मा प्रकाशित


पोखरा । पोखरामा आजदेखि सुरु भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल उद्घाटन खेलमा आयोजक सहारा क्लब थ्रीस्टार क्लबसँग पराजित भएको छ ।

थ्री स्टार क्लबले आयोजक सहारा क्लबलाई २–१ गोल अन्तरले हराउँदै आहा! रारा पोखरा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ।

थ्री स्टारको जीतमा योगेश गुरुङ र एञ्जल महर्जनले समान १÷१ गोल गरे भने सहाराका लागि आशिष गुरुङले सान्त्वना १ गोल फर्काए ।

खेलको छैटौ मिनेटमा योगेशको गोलमा थ्रीस्टारले सुरुवाती अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा आशिषको गोलमा सहारा क्लब खेलमा फर्किएको थियो। लक्ष्मण रुचालको फ्रिकिकमा आशिषले हेड होडर गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्रीस्टारले थप १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । खेलको ५९ औं मिनेटमा एन्जलको गोलमा थ्रीस्टारले आयोजक टोलीविरुद्ध पुनः अग्रता बनाए र आयोजक सहाराले थप गोल गर्न नसक्दा थ्रीस्टारले अन्तिम आठमा स्थान पक्का गरे ।

बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाएका छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।