थ्रिस्टार आहा! रारा पोखरा गोल्डकपको फाइनलमा

-


     मर्दी न्युज    
     माघ १७ गते २०८० मा प्रकाशित


पोखरा । पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा थ्रिस्टार क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रिस्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रि स्टारलाई फाइनलमा पुर्‍याएको हो ।

खेलको ७८औँ मिनेटमा दीपेशले प्रहार गरेको बल पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । ‘म्यान अफ दी म्याच’ घोषित निर्णायक गोलकर्ता घले ६७ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

पहिलो हाफको खेलमा दुवै टोलीमा कुनै पनि गोल हुन सकेन । दोस्रो हाफमा दुवैले आक्रामक खेलका थिए । थ्रिस्टारले हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेको छ । जारी प्रतियोगितामा थ्रिस्टारले प्रि–क्वाटर फाइनलमा आयोजक सहारा र क्वाटर फाइनलमा भुटानको पारो एफसीमाथि जित निकालेर सेमिफाइनलमा पुगेको थियो । जावलाखेलले प्रि–क्वाटर फाइनलमा मच्छिन्द्र र क्वाटरफाइनलमा मनाङ मस्र्याङदीलाई हराएको थियो ।

प्रतियोगिताअन्तर्गत बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबकाबीच दोस्रो सेमिफाइनलको खेल हुने आयोजकले जनाएको छ । भोलिको विजेताले उपाधिका लागि थ्रिस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने आयोजकले जनाएको छ ।