पाेखरा । पोखरामा जारी आहा! रारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
आजको खेल जित्ने टिमले शनिबार हुने २३औं आहा! रारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १-० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ ।
आहा! रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको थियो । तर, सेमिफाइनलमा अमेरिकन टिम बीवाईएससीसँग १–० ले पराजित हुँदा उपाधि नजिक पुगेर पनि बाहिरिनुपर्यो ।
चर्चब्वाइज बाइ पाउँदै सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा आहा! राराकै सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।
आहा! राराको पुरानो र अनुभवी त्रिभुवन आर्मी क्लब हालसम्म उपाधिविहीन छ । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा हालसम्म उपाधि जित्न सकेको छैन । आहा! रारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।
यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते शनिवार हुनेछ भने च्याम्पियन टोलीले रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्ने छ ।