
काठमाडौँ । एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो।
२२४ रन बनाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान दिए। त्यस्तै आरिफ शेखले ३८ रन बनाए। कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्के १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४ बनाए।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सक्यो ।
सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै खेलिने छ ।