पोखरा म्याराथनको तयारी पूरा, म्याराथन रुटमा ३ घण्टा गाडी नचलाउन आग्रह

-


     मर्दी न्युज    
     फागुन ३ गते २०८० मा प्रकाशित


पोखरा, ३ फागुन । पर्यटकीय नगरी पोखरामा आगमी शनिवार ५ फागुनमा १८औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । आयोजक भूतपूर्व खेलाडी मञ्चलले पत्रकार सम्मेलनमार्फत १८ औं संस्करण तयारी पूरा भएको जानकारी दिएको छ ।

यसपटक १०८ जना म्याराथनमा सहभागी हुने आयोजकले जानकारी दिए । त्यस्तै हाफ म्याराथनमा एक सय ७८ जना, पाँच किमी पुरुषमा नौ सय ९० जना र महिलामा चार सय ८६ जना, १० किमी पुरुषमा एक सय २९ जना र १० किमी महिलामा २९ जना सहभागी बन्नेछन् भने पाँच किमी महिला÷पुरुष भेट्रानमा १०/१० जना सहभागी हुने आयोजकले जनाए ।

यस वर्षको म्याराथनमा विदेशी राष्ट्रबाट उल्लेख्य सङ्ख्यामा उपस्थिति रहने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । म्याराथनमा बेलायतबाट छ धावक सहभागी बन्नेछन् भने चीनबाट पाँच जना सहभागी बन्नेछन् । त्यस्तै केन्या, बङ्गलादेश, जर्मनी र जापानबाट तीन/तीन जना सहभागी बन्नेछन् । क्यानडा, फ्रान्स, हङ्कङ, भारत, साउदी अरब, ताइबान, अमेरिकाबाट एक/एक जना सहभागी बन्नेछन् । हाप म्याथनमा पाँच विदेशीको सहभागिता रहने जनाइएको छ । म्याराथनअन्तर्गत १० किलोमिटरमा पुरुष ११ र तीन महिला विदेशीको सहभागिता रहनेछ ।

म्याराथनका विभिन्न विधामा ४१ जनालाई नगदसहित पुरस्कृत गरिने छ । म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

विश्व परिवेशमा चर्चित सहरका नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणाअनुरुप नै यहाँ हरेक वर्ष नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथन गर्दै आएको छ । पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुदबाटै पर्यटन प्रवद्र्धन गर्न वर्षको एक दिन आयोजना गरिने यस प्रतियोगितालाई सहरकै उत्सवका रुपमा मनाउँदै आइएको अध्यक्ष पराजुलीले बताए ।

खेलकुदका क्षेत्रमा योगदान गरेका खेलाडी एवं खेलप्रेमीको साझा संस्थाका रुपमा २०५८ सालमा स्थापित मञ्चले पोखरालाई खेल पर्यटनको समेत गन्तव्य बनाउने लक्ष्यका साथ म्याराथन सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत विभिन्न नौ वटा ‘इभेन्ट’ एकैपटक एकैदिन आयोजना गर्ने मञ्चको तयारी छ । इभेन्टअन्तर्गत खुला म्याराथन ४२ दशमलव १९५ किमी, २१दशमलव ०९७ किमी हाफ म्याराथन महिला, पुरुष । पुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्रछात्रा पाँच किमी दौड तथा ५० वर्ष माथिको भेट्रान महिला पुरुष दौड सञ्चालन हुँदैछन् ।

सोहीअन्तर्गत माघ २७ गते महिला तथा पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड सम्पन्न गरिसकिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सुरक्षाका साथै सवारी आवागमनमा बाधा नपुगोस् भन्ने उद्देश्यले यसपटकको पोखरा म्याराथन पोखरा रङ्गशाला हुँदै मुख्य बजार क्षेत्रभित्र १७ किमी दौडलाई समेटिएको छ । सोअनुसार हल्लनचोकदेखि पोखरा महानगर वडा नं १८, २३ र २४ घाँटीछिना हुँदै पुनःसोही मार्गबाट लेकसाइड हल्लनचोकको क्याम्पिड मैदानमा पुगेर समापन हुनेछ । सवारीचालकलाई म्याराथन रुटमा अत्यावश्यकबाहेक अन्य सवारी साधन नचलाई धावक तथा खेलाडीलाई सम्मान दिन आह्वान गरिएको पोखरा म्याराथनका अन्तराष्ट्रिय संयोजक तेजबहादुर गुरुङले बताए ।

पोखरा रङ्गशालाबाट सुरु हुने दौड तीन किलोमिटर राजमार्ग हुँदै पोखराको औद्योगिक क्षेत्रभन्दा केही पर पुगेर उत्तरतर्फ कदम मार्गको बाटो हुँदै उक्लिने छन् । कदम मार्गबाट बिपी मार्ग, गौँडाकोमुख, भद्रकाली, सयपत्री चोक (रानीपौवा), जनताचोक, पहेलो पुल तरेर धावक पृथ्वीनारायण क्याम्पसतर्फ जानेछन् । क्याम्पसबाट सिम्पानी चोक, हरिचोक, जिरोकिलोमिटरबाट हल्लनचोक पुगिनेछ । हल्लनचोकबाट खहरे, खपौदी, पामे हुँदै घाँटी छिना पुगेर धावक फिर्ता हुनेछन् । घाँटीछिनाबाट फर्केर हल्लनचोकस्थित क्याम्पिङचौर (साईट)मा पुगेर धावकले म्याराथन पूरा गर्ने भएका छन्।

यो म्याराथन पोखरा म्याराथनको इतिहासमा मात्रै नभई नेपाली एथलेटिक्सको इतिहासमा सम्पूर्ण दौडहरू पूर्ण प्रविधिमैत्री भएको मञ्चले जनाएको छ । म्याराथनमा विदेशी धावकको आकर्षण बढाउन पुरस्कार राशि वृद्धि गर्ने लक्ष्यअनुरुप आगामी दिनमा पोखरा म्याराथनको प्रथम पुरस्कारको राशि रु १० लाख पु¥याउने लक्ष्यका साथ मञ्च लागिरहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।