
पोखरा, १९ फागुन । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति देशभर साधारणतया बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनीसहित बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरेको छ ।