माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

-


     मर्दी न्युज    
     फागुन २२ गते २०८० मा प्रकाशित


पोखरा, २३ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । नेकपा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् ।

गण्डकीमा सरकार बनाउन सांसद संख्या ३१ चाहिने भएपनि एमाले र माओवादीका २९ सांसद छन् । सभामुखले राजीनामा दिए पनि ३० मात्र हुन्छ । त्यसैले गण्डकीमा एमाले-माओवादीको सरकार बन्न राप्रपा र समाजवादी निर्णायक देखिन्छ ।