गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

-


     मर्दी न्युज    
     चैत्र २० गते २०८० मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिएका छन् । प्रदेश प्रमुख निवास पुगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा बुझाएका हुन ।

माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले भोेलि २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका हुन् ।

राजिनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो पार्टी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुसँग छलफल गरेका थिए । छलफलमा उनले विश्वासको मत नपुग्ने अवस्थामा के गर्दा उपयुक्त हुन्छ भनेर सुझाव मागेका थिए । पाण्डेले विज्ञहरुसँग सल्लाह गरेरै राजीनामा दिएको बताइएको छ । राजीनामा अघि आजै मन्त्रीपरिषद् बैठक बसेको थियो ।

अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् । सत्ता गठबन्धनले बहुमत जुटाएर दाबी पेस गरे नयाँ सरकार बन्छ । नत्र ठूलो दलको हैसियतले प्रदेश प्रमुखले पाण्डेलाई नै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने ध्याउन्नमा छन् । राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ गठबन्धनको सरकार नबन्ने स्थितिको आंकलन उनको छ । त्यसो भएमा आफूलाई पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने उनको बुझाइ छ ।

राजिनामा दिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले भने,‘राप्रपाले २७ गते अगाडि सरकारबारे कुनैपनि निर्णय नगर्ने बताएपछि विश्वासको मत लिनुभन्दा राजिनामा दिनु उपयुक्त लाग्यो, त्यसैले राजिनामा दिएको हुँ ।’

६० सदस्यीय गण्डकीमा कांग्रेस २७, एमाले २२, माओवादी ८ (सभामुखसहित), राप्रपा २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद छन् । गण्डकीमा सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ ।