गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय

-


     मर्दी न्युज    
     चैत्र २० गते २०८० मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनको आह्वान गरेका छन् ।

आजै बिहान गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन् । बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।

संघमा सत्तासमीकरण फेरिएसँगै मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरू बर्खास्त गरेका थिए । त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

संवैधानिक प्रावधान अनुसार २२ चैतभित्र विश्वासको मत लिनुपर्ने भए पनि पाण्डेले विश्वासको मत पाउने सम्भावना नरहेको भन्दै बुधबार राजीनामा दिएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल काँग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् । सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ ।