गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै कांग्रेस सर्वोच्चमा

-


     मर्दी न्युज    
     २७ चैत्र २०८० मा प्रकाशित


कास्की । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च अदालत पुगेका छन् ।

सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै गण्डकी प्रदेश सरकार गठनविरुद्ध उनी सर्वोच्च गएका हुन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

मुख्यमन्त्रीमा अधिकारीको नियुक्त असंवैधानिक भन्दै आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन पाण्डेले माग गरेका छन् ।

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ । एमालेको २२, माओवादीको ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाइएको थियो । २७ सिटले कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । दुई सदस्यीय रहेको राप्रपाको मंगलबार जनप्रदर्शन रहेकाले सरकारमा जाने या नजाने भन्ने निर्णय गरेको छैन ।