मेयर निर्वाचित भएको २ वर्षपछि व्यासको मतगणना बदर, व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

-


     मर्दी न्युज    
     २ जेष्ठ २०८१ मा प्रकाशित


दमौली (तनहुँ), २ जेठ । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको मत गणनामा धाँधली भएको भन्दै उम्मेदवार दीपकराज जोशीले उच्च अदालतमा रिट दायर गरेका थिए। उनले दिएको रिट निवेदनमा दाबी पुग्ने भन्दै अदालतले उक्त फैसला गरेको हो।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए । जोशीका पक्षमा पाँचजना अधिवक्ताले बहस गरेको थियो ।

दीपकराज जोशी कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा हुन्।

स्थानीय निर्वाचनमा मेयर उम्मेदवार जोशीलाई एमालेले समर्थन गरेको थियो। जोशीले स्वतन्त्र उम्मेवारी दिएका थिए। निर्वाचनमा धाँधली गर्न आफूमाथि आक्रमण भएको, मतगणनामा पनि धाँधली गरेको र आफ्ना एजेण्टलाई मतगणनामा बस्न नदिएको जोशी पक्षको दाबी थियो।

मतणना अनुसार व्यास नगरपालिकाको मेयर पदमा कांग्रेस उम्मेदवार बैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी निर्वाचित भएका थिए। प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेको थिए । न्यौपानेले जोशीलाई २५२ मतले पराजित गरेका थिए।