पत्रकार महासंघको इ–लाइब्रेरी उद्घाटन

-


     मर्दी न्युज    
     १२ जेष्ठ २०८१ मा प्रकाशित


पोखरा । पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्वारा स्थापना गरिएको पत्रकार पुस्तकालय (इ–लाइब्रेरी) तथा स्रोत केन्द्र उद्घाटन गरिएको छ ।

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले उक्त पुस्तकालय तथा स्रोत केन्द्रको उद्घाटन गरेका हुन् । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इट्टा थप्ने काम गरेको उल्लेख गरे । पठन संस्कृतिको विकासमा महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।

‘पुस्तकालयबाट पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय र स्रोत केन्द्र प्रशंसा गर्नलायक बनेको छ । अब यसको सदुपयोगको कामना गर्दछु,’ उनले भने ।

गण्डकी प्रदेश सभाका सांसद एवम् पूर्व कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पत्रकारका लागि निर्माण गरिएको पुस्तकालय एवम् स्रोत केन्द्रको स्थापनाले अध्ययन शैलीमा परिवर्तन आउने उल्लेख गरे । प्रेस स्वतन्त्रतालाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न पुस्तकालय महत्वपूर्ण साबित हुने उनले बताए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकार महासंघ कास्की शाखाले केन्द्रले गर्न नसकेको काम गरेको उल्लेख गरे । उनले केन्द्रले पनि पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाएको तर आर्थिक स्रोतको आभावमा पुरा गर्न नसकेको हुँदा ४० प्रतिशत काम थाती रहेको बताए । विमला भण्डारी नेतृत्वको महासंघ कास्कीले भने समयमा नै पुस्तकालय निर्माण गरेको प्रति उनले खुसी व्यक्त गरे ।