विश्वासको मतका लागि २८ गते ३ बजे प्रदेश सभा बैठक

-


     मर्दी न्युज    
     २५ जेष्ठ २०८१ मा प्रकाशित


पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि जेठ २८ गते ३ बजे प्रदेश सभाको बैठक आव्हान गरिएको संसद सचिवालयले एक सूचना जारी गरेको छ ।

१६ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले नीति तथा कार्यक्रम र बजेट अगावै विश्वासको मत लिन लागेका हुन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौँबाट फर्किए लगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० सदस्यीय सभामा कांग्रेसको २७ सिट छ । राप्रपाले समर्थन गर्दा २९ पुग्छ । दीपक मनाङे आउँदा पनि जम्मा ३० सिट पुग्दा १ सिटले यो गठबन्धनको बहुमत पुग्दैन । त्यसका लागि कांग्रेसले माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटाको आशा गरेको छ । तर उनी कानुनी रुपमा माओवादी संसदीय दलमै छन् ।