प्रदेशसभा सदस्य देवकोटा पदमुक्त

-


     मर्दी न्युज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित


पोखरा, ३२ जेठ । गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना प्रदेशसभामा जानकारी गराएको हो ।

नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचनमा भाग लिई प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

उनले माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै यही जेठ २८ गते प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्वीप उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही गरी सभामुखलाई पत्र दिएको थियो ।

विश्वासको मत पाएको भोलिपल्ट नै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जामन्त्री नियुक्त गरेका थिए ।