सफल सिकाइ सहजीकरणका आधार

-


     डा. बिष्णुप्रसाद शर्मा    
     असार ५ गते २०८१ मा प्रकाशित


कास्की जिल्लाको पोखरा महानगरपालिका र स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाका सम्बन्धित शिक्षक, अभिभावक र विद्यार्थीसमक्ष पुगेर गहन अन्तरवार्ता, सहभागितामूलक कक्षा अवलोकन र लक्षित समूह छलफलका माध्यमबाट तथ्य सङ्कलन गरी प्रस्तुत लेख तयार गरिएको छ | तथ्यबाट प्राप्त नतिजाका आधारमा सिकाइ बानी निर्माणमा आधारित भएकाले सिकाइ सहजीकरणमा सिकारुको नियमितता, सक्रियता र सहभागिता बढाउन आवश्यक छ । हुन त केही विद्यार्थीहरू कक्षामा नियमित नभए पनि स्वाध्ययनबाट ज्ञानको निर्माण गरेको पाइन्छ । तर हाम्रो ध्यान विद्यार्थीलाई नियमित गराई सिकाइमा सहभागी बनाउनतर्फ नै केन्द्रित हुनुपर्छ । यसका लागि सिकारुको शैक्षणिक र मनोवैज्ञानिक पक्षको ख्याल गर्दै उत्प्रेरणा र पृष्ठपोषणजन्य कार्यकलापका माध्यमबाट सिकारुलाई नित्य सिकाइमा सहभागी गराउनै पर्दछ ।

सिकारुको नियमितता र सक्रिय सहभागितासँगै ज्ञान निर्माण गराउने अवसर सिर्जना गर्नुपर्ने देखिन्छ । यस क्रममा शिक्षकले विद्यार्थीलाई ज्ञानको हस्तान्तरण नगरी उनीहरूमा नै भएको ज्ञान, सिप र क्षमताको विकास गराउने परिवेश निर्माण गराउनाले उनीहरूमा ज्ञान आर्जन गर्ने कार्य सरल, छिटो र जीवन्त बन्ने अवस्था रहन्छ ।

हाम्रा कक्षा कार्यकलापमा सिकारुका जिज्ञासा र समालोचनात्मक चिन्तनको उपयोग गराउनु राम्रो हुन्छ । सिकारुलाई पाठ्यवस्तु घोकाउन, नोट लेखाउन र शिक्षकको निर्देशनमा आधारित सिकाइभन्दा गरेर सिक्ने बानीको विकास गराउनु आवश्यक छ । यसबाट सिकारु स्वयम् सिकाइमा संलग्न हुन्छ । सिकाइ निरन्तर प्राप्त हुने प्रक्रिया भएका कारण यसमा निरन्तरता र धैर्यताको महत्त्व रहन्छ । यसका लागि सिकाइ सहजीकरण गराउँदा पाठ्यवस्तुको सन्दर्भ र सिकारुका समस्यामा केन्द्रित भई सिकाउनु अर्थपूर्ण र उद्देश्यमूलक हुने देखिन्छ ।

यसका अतिरिक्त सिकाइ सहजीकरणमा पाठ्यवस्तुमा आधारित भई त्यसबाट सैद्धान्तिक पक्षसँग व्यावहारिक पक्षको समन्वय गराउनु सान्दर्भिक हुने देखिन्छ । यसबाट समस्यालाई सैद्धान्तिक र व्यावहारिक रूपमा समाधान गर्न मद्दत मिल्ने अवस्था रहन्छ ।

सिकाइ सहजीकरणलाई सिकारुमैत्री र सहभागितामूलक बनाउन सिकारुलाई नै सिकाइको केन्द्रमा राख्नुपर्छ । सिकाइका क्रममा सिकारु विभिन्न अवस्थामा रहेको हुन्छ । त्यसैले सिकाइमा देखिने समस्याको समाधानमा शिक्षकले हस्तक्षेप नगरी सिकारुलाई नै उत्प्रेरित गर्नुपर्छ । समस्यासँग परिचित हुन, खेल्न, जुध्न र निकास निकाल्न सहयोग गर्नुपर्छ । व्यक्तिगत, जोडीगत, समूहगत र कक्षागत सिकाइ गर्ने परिवेशको निर्माण गर्न आवश्यक छ । सिकाइ सहजीकरणमा शिक्षक सहजकर्ता, उत्प्रेरक र पथ प्रदर्शक बन्नु राम्रो हुन्छ ।

शिक्षक निर्देशक र दबाब दिनेजस्तो बन्नु हुँदैन । एउटा सहयोगी, साथी र फूलबारीको मालीजस्तो बनेर सिकारुलाई सिकाइमा अगाडि बढ्न सहयोग गर्नुपर्छ । व्यक्तिगत र सामूहिक सिकाइमा सहयोगी बन्नुपर्छ । यसैगरी सिकाइका क्रममा सिकारु पनि लगनशील हुने, सिक्न प्रेरित बन्ने, जिज्ञासु, आलोचक, सर्जक र खोजकर्ता बन्नुपर्छ । अलमलमा परेको बेला सोध्ने, नयाँ नयाँ कुरा खोज्ने गरेमा सिकाइ सहभागितामूलक सिकारुमैत्री र सार्थक बन्ने देखिन्छ ।

सिकाइ सहजीकरणमा सिकाइमैत्री परिवेश आवश्यक हुन्छ । सिकाइमा सिकारुलाई गाली, अपमान र डर नदेखाई स्वतन्त्रता, सम्मान र सहयोग गर्नुपर्छ । हाम्रो परम्परागत सिकाइ शैलीमा परिवर्तन आई सिकारुमैत्री शैली र सोच ल्याउनु राम्रो हुन्छ । विद्यार्थीलाई अपशब्द बोल्ने, सजायँ दिनेजस्ता कार्य नगरी मिठो बोली, नम्र व्यवहार र आवश्यक परामर्शका साथ सिकारुको नेतृत्व र व्यक्तित्व विकासका अवसर सिर्जना गराउनु सहभागितामूलक सिकाइको मूल मर्म हो । हाम्रा कक्षाकोठामा शिक्षक विद्यार्थी अन्तरक्रियाका साथै सहयोगात्मक सिकाइमा जोड दिई सिकारुलाई सिकाइमा समान अवसर प्रदान गर्नु आवश्यक छ ।

यसका लागि सिकाइ पिरामिड -व्यक्तिगत सिकाइ, जोडी सिकाइ, समूह सिकाइ र समग्र कक्षागत सिकाइ_ मा जोड दिई सिकाइलाई विविधतामय र सहकार्यमा आधारित बनाउनु उद्देश्यमूलक हुने देखिन्छ ।

सिकाइमा शिक्षक, विद्यार्थी, अभिभावक र प्रशासनको संलग्नता रहन्छ । यसमा मुख्य भूमिका शिक्षक र विद्यार्थीको भए पनि सिकाइमा देखिने सफलताको जस सिकारुमा नै आउनु पर्दछ । शिक्षकको सहयोगमा व्यक्तिगत र सामूहिक रूपमा सिकारु सिकाइमा संलग्न हुन्छ, अभ्यास गर्छ र ऊ सफल हुन्छ । यस अवस्थामा अझ उसमा ‘मैले सिकेँ, म अब धेरै सिक्न सक्छु’ भन्ने आत्मबोध प्राप्त हुन्छ र सिकाइमा सदा लागिरहन्छ । यसर्थ सिकाइमा सिकारुको नै अपनत्व बोध भएपछि स्वतः उसको सिकाइमा स्थायी परिवर्तन आउँछ ।

सिकाइ निरन्तर र दिगो हुन्छ । कक्षामा सिकेको सिकाइको प्रभाव उसमा पछिसम्म रहन्छ । यसबाट न्यायपूर्ण समाजको निर्माण भई समतामूलक समाजको निर्माण गर्न मद्दत पुग्ने देखिन्छ । व्यवहारवादी, संज्ञानवादी र निर्माणवादी सिद्धान्तले पनि यही अवस्थाको परिकल्पना गरेको छ । अतः सहभागितामूलक र सिकारुमैत्री सिकाइ सहजीकरणले नै सिकारुमा अर्थपूर्ण सिकाइ गर्न मद्दत पुगेको हुन्छ ।

डा. शर्मा पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक हुन् ।