काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको परामर्शपछि बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।
कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानूनविद्हरुसँग छलफल गरेका थिए ।