शेयर बजारमा नयाँ रेकर्ड, हालसम्मकै उच्च रू. २१ अर्ब ९१ करोड बराबरको कारोबार

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०८१ मा प्रकाशित


काठमाडौँ । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

आज बुधवार नेप्से परिसूचक २ दशमलव ३८ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७६० दशमलव ९० विन्दुमा पुगेको हो । आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

बुधवार सबैभन्दा बढी सिभिल बैंक डिबेञ्चर २०८८ नामक ऋणपत्रको मूल्य ७ दशमलव ९२ प्रतिशत घटेको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रू.१ हजार ७० कायम भएको छ । यो सूचीमा दोस्रोमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ६ दशलमव ५२ प्रतिशत घटेर रू. २ हजार ७९२ दशमलव २० कायम भएको छ ।

यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ८४ करोड ४९ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७४५ दशलमव ९० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा माउण्टेन इनर्जी नेपाल छ । कम्पनीको रू. ४१ करोड ९ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

आज कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ८ दशलमव ०८ प्रतिशत वृद्धि भएको छ । वित्त समूहको त्यसपछि लगानी समूहको सूचक ६ दशलमव ८९ प्रतिशत र अन्य समूहको सूचक ३ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ ।