
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ। यसअघि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन बुधबार प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
बिहीबारको बैठकमा त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।
सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची पनि छ।
धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ।
यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन्। यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा जनाइएको छ।
अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ।

