नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिएका छन् ।
आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका–२९ घुमाउनेमा बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेको प्रहरीले जनाएका छन् । घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।