काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लि छ्याङबीच भएको वार्तापश्चात् सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीबीच द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको छ । कनेक्टिभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप, जनसम्बन्धलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ ।
द्विपक्षीय वार्तापश्चात् ८ वटा महत्त्वपूर्ण बुँदासहितका सहमति पत्रमा हस्ताक्षर भएको मन्त्रालयको भनाई छ । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।