पोखरा । नेपालको पश्चिमी भूभागमा अबको एक–दुई दिनमा पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिवार साँझ प्रकाशित बुलेटिन अनुसार आजदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । भोलि सोमबार भने अझै बढ्दै लुम्बिनी प्रदेशसम्म नै त्यसको असर पर्ने जनाएको छ । सोमवार रातिसम्म गण्डकी प्रदेशसम्मै असर पर्ने बुलेटिनमा जनाइएको छ । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।
अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले बिहान कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको भने बाँकी भूभागमा सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।