कालोटाउके चित्रकचरी पहिलो पटक चितवनमा अभिलेख

-


     मनशान्त घिमिरे    
     ७ पुस २०८१ मा प्रकाशित


फोटो: सन्तोष बस्नेत

नेपालका लागि विरल तथा अनियमित हिउँदे आगन्तुक चरा कालोटाउके चित्रकचरी चितवन जिल्लाका लागि पहिलो पटक आज पुस ७ गते दिउँसो अभिलेख गरिएको छ । अंग्रेजीमा Brambling भनिने यो प्रजाति सँगै चितवन जिल्लामा पाईने चराको प्रजाति ६६६ पुगेको छ ।

पंछी अवलोकनका क्रममा पश्चिम चितवनको मेघौली क्षेत्रमा रहेको मेघौली सेराई ताज सफारीका कार्यरत नेचुरलिस्टहरु सन्तोष बस्नेत, अस्बिन गुरुङ, स्वस्तिका र सन्दिप महतोले होटल नजिकै खेतवारीमा उक्त प्रजातिको एक अल्पवयस्कको तस्विर सहित अभिलेख गरेका थिए । अभिलेख पश्चात आजै सोही क्षेत्रमा उक्त प्रजातिको नेपाल पन्छीविद संघका अध्यक्ष हठन चौधरी एवं मेघौली घटगाइ नेचर गाइड एसोसिएसनका अध्यक्ष मनिष लिम्बुले समेत देखेका थिए ।

फोटो: हठन चौधरी

नेपालका लागि पहिलो पटक सन् १९७१ मा आर एल फ्लेमि² जुनियरले रारा–जुम्ला क्षेत्रवाट हिउँदको समयमा अभिलेख गरेका थिए । सन् १९९० पश्चात अन्नपूर्ण संरक्षण क्षेत्रमा सन् १९९३, १९९६, २००३, २००४, २०२२ त्यसैगरि मकालु बरुण राष्ट्रिय निकुञ्जमा सन् २००५ मा दुइ पटक तथा सोही वर्षमा रारा राष्ट्रिय निकुञ्जमा समेत भेटिएको नेपालका संकटापन्न चराहरुको रातो किताबमा उल्लेख गरिएको छ ।

समुन्द्री सतहको १५०० मिटर देखी ४१०० मिटरको विचमा नेपालमा भेटिएको यस प्रजाति हाल सम्मकै होचों भुभाग १४३ मिटरमा भेटिएको नेपाल पन्छीविद संघका अध्यक्ष चौधरीले बताए ।