फोटो: सोभित के.सी.
नेपालको पश्चिम तराईमा ठाउँ विशेष स्थानिय रुपमा प्राय भेटिने ठूलो बगाले भ्याकुर मध्य पश्चिमको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नन्द भाउजु उपभोक्ता समिति, मध्यबिन्दु नगरपालिका वडा नं ३ को नारायणी हाइटमा आज विहान अभिलेख गरिएको छ । यस रेकर्ड सँगै यस भ्याकुरको विचरण गर्ने क्षेत्र पूर्वतर्फ सर्दै गरेको छ ।
बर्डस् नेपालका कार्यकारी निर्देशक सिजन ज्ञवाली एवं सदस्यहरु सोभित के.सि. र चित्र मगरको टोलीले पंछी अवलोकनका क्रममा यस प्रजाति ३ वटाको सख्यामा देखि फोटो सहित अभिलेख गरेका थिए । अंग्रेजीमा Large Grey Babbler भनिने यस प्रजाति सँगै नवलपूरमा चराको प्रजाति ५०१ पुगेको छ ।
कपिलवस्तुको तौलिहवा क्षेत्रवाट नेपालका लागि पहिलो पल्ट सन् १९७८ मा अभिलेख गरिएको यस प्रजाति हाल सम्म रुपन्देही र कपिलवस्तु जिल्लामा सवैभन्दा बढि भेटिएको र दाङ एवं बाँके जिल्लामा एक/एक रेकर्ड भएको नेपालका संकटापन्न चराहरुको रातो किताबमा उल्लेख गरिएको छ ।
पछिल्ला वर्षहरुमा केहि चराहरुको आनिवानी तथा स्थान परिवर्तनमा छिटपुट भिन्नता देखिएको र यस भ्याकुर पनि पश्चिम तर्फ वाट पूर्वी दिशातिर हुने विचरणमा नवलपुर क्षेत्र आइपुगेको जुन हालका लागि पूर्व तर्फको अन्तिम स्थान भएको नेपाल पन्छीविद संघका अध्यक्ष हठन चौधरी वताउँदछन् ।