२६६९ अंकमा झर्‍यो सेयर बजार

-


     मर्दी न्युज    
     चैत्र ७ गते २०८१ मा प्रकाशित


 साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबारसम्म घट्ने क्रम कायमै रह्यो । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि साताभर ओरालो लाग्यो। आज ३१२ स्क्रिप्सको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको सेयर कारोबार भयो। आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोड,मंगलबार ४ अर्ब र बुधबार ५ अर्ब बराबरको सेयर कारोबार भयो।

साताभर कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज डोल्टी पावरको सेयर सर्वाधिक ७.५६ प्रतिशतले बढ्यो। दोहोरो अंकले घटेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ। मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डभलपमेन्टको सेयर १० प्रतिशतले घट्यो।

कारोबारमा आएकामध्ये ६२ स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।