इलाममा भेटियो नयाँ प्रजातिको चरा, नाम राखियो ‘बैजनी कोइली’

-


     मर्दी न्युज    
     वैशाख ३ गते २०८२ मा प्रकाशित


पोखरा । इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको छ । समुद्रसतहबाट ३०० मिटर उचाइमा रहेको सुवानी वन क्षेत्रमा चराविद् राजेन्द्र गुरुङको टोलीले चरा अवलोकनको क्रममा उक्त चरा फेला पारेको हो ।

नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएसँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगेको छ ।

नेपालका चराविद राजेन्द्र गुरुङले पहिलोपटक चैत १२ गते बिहान ११ः२० बजे सो भाले चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए । उनीसँगै रहेका दुई जना मलेसियन नागरिक अलेक्जेण्डर जोन आङ याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए भने रोबर्ट रजाह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि चरा अवलोकन गरेका थिए ।

टोलीका सबैजनाले खोला छेउछाउका रुखहरुमा करिब २० मिटरको दुरीबाट सो चराको फोटो र भिडियो खिचेर २८ चैतमा थप पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीको कार्यालय काठमाडौंमा पठाएका थिए ।

प्राप्त विवरणहरुको अध्ययन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविद्हरुसँगको रायसुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुलसी सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छन् ।

सो चराको नेपाली नाम ‘बैजनी–कोइली’ राखिएको छ भने अंग्रेजी नाम Voilet Cuckoo र वैज्ञानिक नाम Chrysococcyx xanthorhynchus हो ।

नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार यो चरा भुटान, फिलिपिन्स, सिंगापुर, बंगलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, आलोस, मलेसिया, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रुपमा पाइन्छ । यसले भुटान, फिलिपिन्स र सिंगापुरमा प्रजनन गर्छ । विश्वमा यस चराका दुई उपप्रजाति अभिलेख भएका छन् ।