सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारवाहीमा

-


     मर्दी न्युज    
     वैशाख ११ गते २०८२ मा प्रकाशित


काठमाडौँ । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारवाहीमा परेका छन् ।

बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त घटनाका ४ जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको बताएको हो।

ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ। उनीहरूमाथि थप छानबिन र अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जनाएका छन्।

भिडिओमा सवारीसाधान आवतजावत भइरहेको देखिन्छ भने सडक छेउमा ट्राफिक प्रहरीले एक पुरूषलाई कुटपिट गरेको देखिन्छ।

एक ट्राफिक प्रहरीले ती पुरूषलाई खुट्टाले हान्दै, उचाल्दै पछारेका छन् भने ती पुरूष अचेत भएको देखिन्छ।

साथै ट्राफिक प्रहरीले कागजातसमेत ती पुरूषको मुखमा फालिदिएका थिए। त्यहाँ चार जना ट्राफिक प्रहरी देखिए पनि एक जनाले कुटपिट गरेको भिडिओमा देखिन्छ।



Tags: