
पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजतन्त्र फर्कने सम्भव नभएको बताएका छन् । नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना देखेर उत्साहित नहुन सुझाव दिए ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कनेजस्ता हल्ला फिँजाएकोतर्फ इंगित उनले भने, “पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली पनि हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदै छौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न आग्रह गर्छु ।”
प्रधानमन्त्री ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्र भागमा एमाले पार्टी रहेको बताए । उनले भने, “एमालेमाथि आन्तरिक र बाहिरका विरोधीहरूबाट केन्द्रिकृत एवं चौतर्फी रूपमा आक्रमण भइरहेको छ । एमालेले गल्ती गरेको भए हामी अहिले जुन ठाउँमा छौँ, त्यस ठाउँमा आउन दिने थिएनन् । सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी एमाले हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरूको भ्रम र अन्योलमा नपरी आफ्ना काम-कर्तव्य पूरा गर्न म सबैसँग आग्रह गर्दछु ।”
अध्यक्ष ओलीले एमालेको योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै पार्टी नेतृत्वमाथि केन्द्रिकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिँजाउन खोज्ने प्रयासलाई तोड्न सबै देशभक्त र एमालेहरू एकजुट हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको उल्लेख गर्दै सरकार ढल्यो भनेर कराइरहेकाहरूलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गरे । आफूहरू भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उनले बताए ।
युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै पार्टी अध्यक्ष ओलीले नेतृत्वमा नअटेकाहरूको न्यायोचित व्यवस्थापन हुने भएकाले लुँछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

