सप्तरीमा नयाँ चरा भेटियो, नेपालमा चरा प्रजातिको संख्या अभिलेख नौ सय पुग्यो

-


     खड्कजङ गुरुङ    
     जेठ ११ गते २०८२ मा प्रकाशित


पोखरा । सप्तरी जिल्लास्थित कोशी बााँधको पिनटावर क्षेत्रमा ‘छोटो-पुछ्रे समुन्द्री चरा’ फेला परेको छ । उक्त क्षेत्रमा चराविद् अनिश तिम्सिनाले चरा अवलोकनका क्रममा उक्त नयाँ चरा फेला पारेको हो ।

नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएसँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ९०० पुगेको छ ।

नेपालका चराविद् अनिश तिम्सिनाले पहिलोपटक वैशाख २० गते बिहान ९ः०६ बजे सो चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए । कोशी व्यारेजमा रहेको पिनटावरबाट कोशी बाँध जलासयमा पौडी खेलिरहेको अवस्थामा उक्त चरा भेटिएको हो । पौडी खेलिरहेको र आहार खोज्दै गरेको अवस्थामा सो चराको फोटो र भिडियो खिचेर २२ वैशाखमा थप पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीको कार्यालय काठमाडौंमा पठाएका थिए ।

प्राप्त विवरणहरुको अध्ययन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविद्हरुसँगको रायसुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुलसी सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छन् ।

सो चराको नेपाली नाम ‘छोटो–पुछ्रे समुन्द्री चरा’ राखिएको छ भने अंग्रेजी नाम Short-tailed Shearwater र वैज्ञानिक नाम Ardenna tenuirostris (Temminck, 1835)

हो । नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार Procellariiformes वर्गकाे Procellariidae परिवारमा पर्ने यो चरा अस्ट्रेलिया, अन्टार्टिका, क्याना, कोस्टारिका, फिजी, जापान, भारत, न्यूजील्याण्ड, रुस, श्रीलङ्का, दक्षिण कोरिया आदि देशहरुमा पाइन्छ र यी क्षेत्रहरुमा प्रजनन् गर्छ । नेपालमा फिरन्ते रुपमा यो चरा आएको अनुमान गरिएको हो ।

गत चैत १२ गते पनि इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेका थिए ।